आजबाट सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह गठन गरिएको छ ।
शुक्रबारको उद्घाटन सत्रमा पेस भएका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदनमाथि छलफल गर्न समूह गठन भएका हुन्।
उक्त समूहगत छलफलको सहजीकरणका लागि २० जना नेतालाई जिम्मेवारी तोकिएको छ। देशभरबाट गरी ६ हजार प्रतिनिधि सहभागी भएकाले प्रतिवेदनमाथि छलफलका लागि समूह गठन गरिएको एमालेले जनाएको छ ।
प्रतिबेदनमाथि शनिबार २ बजेसम्म समूहगत छलफल हुने र २ बजेपछि पूर्ण बैठकमा फर्किने छ । प्रतिवेदनमाथि छलफलका लागि प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्य, प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुविर महासेठले गर्नेछन्। बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा (बादल) ले गर्नेछन्। गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन्।
यस्तै, लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन्। कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेलले गर्नेछन्। सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन्। उपत्यका विशेष कमिटी सम्पर्क समूह र प्रवास समूहको सहजीकरण छबिलाव विश्वकर्मा र राजन भट्टराईले गर्नेछन्।
जनसंगठन समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्नेछन्। केन्द्रीय निकाय र विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेललाई जिम्मेवारी दिईएको छ ।