नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशनको दोस्रो दिन शनिबार(आज) विभिन्न पाँच समूहहरूले विभिन्न दस्तावेजहरूमाथि सुझाव प्रस्तुत गरेका छन् ।
शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिका समूहगत छलफलका निष्कर्ष प्रस्तुत गरिएको हो ।
प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो । सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गरेका हुन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । विधान महाधिवेशन आइतबार सकिने छ ।