नेकपा एमालेले आफ्नो दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने लगाएतमा निर्णय गर्दै प्रथम विधान महाधिवेशन सम्पन्न गरेको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको विधान महाधिवेश सम्पन्न गर्दै एमालेले मंसिर तेस्रो साता दशौं राष्ट्रिय महाधिवेशन गर्ने मिति तोकेको हो ।
शुक्रबारबाट सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित भएको छ । राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि सर्वसम्मत पारित गरेको हो । विधान महाधिवेशनमा १० समूह बनाई प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल भएको थियो । समापन कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्ने र बहुमतको सरका ल्याउने बाटोमा लाग्न सबैलाई निर्देशन दिए । विधान महाविधेशनले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । त्यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ ।