सल्यानमा माइत हिँडेकी बागचौर नगरपालिका-२ गैरीकी ५४ वर्षीया रामकली खत्रीको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका डोजर (जेसीबी) चालक, सहचालक र डोजर मालिक रहेको सल्यान प्रहरीले जनाएको छ।
‘घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएका छौँ’, सल्यानका डीएसपी गोविन्द थापाले भने, ‘डोजरको ठक्करबाट महिलाको मृत्यु भएको हुन सक्ने शंका छ।’ घटना अनुसन्धानकै क्रममा रहेकाले पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन।
प्रहरीका अनुसार मृतक रामकलीको टाउको फुटेको छ भने एउटा हात र खुट्टा किचिएको छ। घटना भएकै दिन डोजर उक्त सडक खण्डमा मर्मत गरिएको थियो। शवको अवस्था र घटनाको प्रकृतिअनुसार डोजरकै ठक्करबाट ती महिलाको मृत्यु भएको विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।
शनिबार माइती जान भनेर घरबाट हिँडेकी रामकली आइतबार मृत अवस्थामा भेटिएकी थिइन्। घटना रहस्यमय भएको आशंकामा प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरेको थियो।