कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको हो ।
झाडा पखालाको कारणले वडा नं. ९ बहादुरगन्जमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेको स्थानीय मनीष गुप्ताले बताए ।
वडाभर प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा विरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।
शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् । यता समुदायमा रहेका बिरामीको सङ्ख्या एकिन हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । नगरपालिका वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताए ।
प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको बताइएको छ ।