जनकपुरधाम प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भोलि बुधबार विश्वासको मत लिने भएका छन्।
सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक सातअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए। २० असोजदेखि नै प्रदेशसभाको ७औं अधिवेशन आह्वान गरिएको छ।
संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ।
९ भदौमै जनता समाजवादी पार्टी (जसपा) विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक पार्टीको प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो। तर, जसपाले जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर २० असोजमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।
अहिले प्रदेश २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारको छ भने नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ। यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाको एक सय चार सदस्यमध्ये दुई तिहाई भन्दा बढीको बहुमत रहेको छ।