सरकारले यात्रुवाहक सवारीसाधनलाई आजदेखि देशभर कार्यान्वयन हुने गरी रुट परमिट (सडक अनुमति) नचाहिने व्यवस्था गरेको छ ।
आजदेखि यात्रुवाहक सवारीसाधन जुनसुकै ठाउँमा जान सक्ने व्यवस्था गरिएको हो ।
यस व्यवस्था कोजाग्रत पूर्णिमासम्म कायम गरिएको छ । दशैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन आजदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।
यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला सवारीसाधनलाई भने ३ कात्तिक कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । तर, ढुवानी व्यवसायीहरूले भने सरकारको यो निर्णयबारे जानकारी नभएको बताएका छन ।