नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले दश बुँदे सहमतिलाई निर्जीव ढंगले नबुझ्न आग्रह गरेका छन् ।
एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा महासचिव पोखरेलले १० बुँदे सहमतिको जीवन्त कार्यन्वयन गर्न कुनै कसर बाकी राख्नु नहुने बताए । उनले पार्टी विभाजनको विपक्षमा दृढतापूर्वक लाग्न पनि सबैलाई आग्रह गरे ।
कार्यक्रममा उनले भने, ‘दश बुँदे ठिक छ । त्यो सुझाव हो । त्यो सुझावलाई सृजनात्मक ढंगले लागू गर्ने । रचनात्मक ढंगले बुझ्ने । जहाँ जस्तो अवस्था छ, त्यो अनुसार लागू गर्ने । पार्टीको पक्षमा दृढतापूर्वक उभिएका, विभाजनको विपक्षमा उभिएका, क्रियाशील हुने सबै साथीहरुलाई पार्टीमा समेट्दै लैजाने हो । दश बूँदेलाई निर्जीव ढंगले निमोठेर बुझ्नु हुँदैन । सृजनात्मक ढंगले बुझ्नु प¥यो ।’
त्यस्तै कार्यक्रममा सचिव गोकर्ण विष्टले माधव नेपालले पदका लागि पार्टी विभाजन गरेको आरोप लगाए । उनले भने, ‘दल विभाजन अध्यादेशको विरोध गर्ने कमरेड माधव नेपाल र झलनाथ खनाल आज ४० प्रतिशत होईन, उहाँहरुलाई जति प्रतिशत राख्दा पुग्छ, त्यही आधारमा २० प्रतिशत पुग्ने अध्यादेश ल्याएर छापामार शैलीमा दल विभाजन गर्नु भयो । जुन राजनीतिक, कानुनी, नैतिक कुनै हिसावले पनि औचित्यपूर्ण हुन सक्दैन ।’