लुम्बिनी प्रदेशको मन्त्रिपरिषद आज (आइतबार) विस्तार गरिएको छ ।
मन्त्रिपरिषद विस्तारलगत्तै नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
आज प्रदेश प्रमुख अमिक शेरचनले नववियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई शपथ गराए । शपथ लिनेमा कांग्रेसका तर्फबाट सरकारमा गएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बनेका बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ छन् ।
स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रीका रूपमा दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्रीका रूपमा बर्दियाका तिलकराम शर्माले पनि शपथ लिए। उनीहरू माओवादी केन्द्रबाट सरकारमा गएका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिए । उनीहरू कांग्रेस सांसद हुन् । माओवादी केन्द्रबाट भने स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वलीले पनि शपथ लिइन् ।