logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री हुँदा केपी ओलीले देश हेरे कि आफ्नै जिल्लामा योजना थुपारे?


अंकुरण खबर
793
Shares

अढाई अर्ब रुपैयाँभन्दा बढी लगाएर पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित झापाको क्षेत्र नं ५ को दमकमा ‘भ्यू टावर’ निर्माणको काम करिब ४० प्रतिशतले सकिएको छ।

जनताको आधारभूत आवश्यकता पूरा गर्न नभई केही व्यक्तिहरूको लाभलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त भ्यू टावर निर्माण गरिएको ओलीमाथि आरोप पनि लाग्दै आएको छ।

एमालेका कार्यकर्तालगायत दमक क्षेत्रका स्थानीयवासीले भ्यू टावर निर्माणले दमक क्षेत्रको विकासमा टेवा पुर्‍याउने भन्दै ओलीको प्रशंसा पनि गर्ने गरेका छन्।

भ्यू टावर जस्ता थुप्रै विकास निर्माणका काम ओलीको क्षेत्रमा केन्द्रित छन्।

तर दलको प्रमुख नेता तथा प्रधानमन्त्री भइसकेका मान्छेले समग्र जिल्ला वा देशलाई नै प्राथमिकतामा राखेर विकासका काम अघि बढाउन पर्ने भन्दै ओलीको आलोचना गर्ने गरिएका छन्।

आफ्नो क्षेत्रमा मात्र एउटा दलको प्रमुख नेताको ध्यान गएको भन्दै भइरहेका आलोचनाका माझ दमक क्षेत्रमै बुद्धको मूर्ति बनाउने कामको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको दमक नगरपालिका कार्यालयले जनाएको छ।

ओली सरकारको झापा योजना

ओली निर्वाचित झापाका लागि उनी प्रधानमन्त्री भएका बेला अन्य जिल्लाको तुलनामा थुप्रै योजना बजेटमा राखिएका थिए।

ती योजना कार्यान्वयन हुन्छन् वा हुँदैनन् भन्ने बारे स्थानीय सरकारहरू नै अन्योलमा छन्।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीका अनुसार अहिलेसम्म ती योजनाहरूका बारेमा कुनै जानकारी आएको छैन।

बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराइ बहुआयामिक विकास गर्न झापाको दमकमा गुणस्तरीय शिक्षासहितको ‘चिल्ड्रेन प्याराडाइज’ स्थापना गर्ने योजना ओली सरकारले बजेटमा राखेको थियो ।

ओली सरकारले दमक- ३ स्थित हम्सेदुम्से सामुदायिक वनमा ३५,००० दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रङ्गशाला निर्माण गर्न बजेट विनियोजन गरेको थियो।

ओलीकै पालामा दमक नगरपालिकामै बहुतले बस पार्कसहित सिटी पार्कका लागि पनि सङ्घीय सरकारले बजेट छुट्टाएको थियो।

दमकमै आगामी दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख गरिएको थियो।

सोही क्षेत्रको शिलान्यास ओलीले प्रधानमन्त्री भएका बेला गरिसकेका छन्।

यी योजनालगायत झापाका लागि थुप्रै स-साना योजना ओली सरकारले बजेटमै व्यवस्था गरेको थियो।

केही व्यक्तिले फाइदा लिएः विपक्षी

ओलीले आफ्नो क्षेत्रमा मात्र योजनाहरू पारेको भन्दै विपक्षी दलले आलोचना गर्ने गरेका छन्।

योजना आफ्नो क्षेत्र वा जिल्लामा पार्दा जिल्लावासीलाई नै फाइदा हुनुपर्नेमा उनका पार्टीका केही नेता तथा कार्यकर्तालाई मात्र फाइदा पुगेको नेपाली कांग्रेसको जिल्ला नेतृत्वको आरोप छ।

नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले ओलीले नेकपा एमालेका कार्यकर्ता ‘पोस्ने’ काम गरेको आरोप लगाए।

उनले भने, “त्यो भ्यू टावर वरपर तथा औद्योगिक पार्क निर्माण नजिक उनकै कार्यकर्ताले जमिन किनेर प्लटिङ गरेर बेच्ने काम गरे।”

“योजना पारेर पनि जिल्लालाई फाइदा पुग्ने काम गरेको मैले चाहिँ पाइनँ। केवल उनका कार्यकर्तालाई फाइदा पुग्ने काम मात्र भएको छ।”

तर नेकपा एमालेका जिल्लाका नेता तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले झापाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रधानमन्त्री हुँदा जिल्लामा योजनाहरू स्वाभाविक रूपमा पर्ने बताए।

उनले भने, “काम गरेको देख्न नसक्ने विपक्षीहरूले लगाउने आरोप मात्र हो। जुनै नेताले आफ्नो जिल्लालाई प्राथमिकता नदिने भन्ने कहाँ हुन्छ र?”

बीबीसीको सहयोगमा