प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ९ कात्तिक बस्ने जानकारी दिएका हुन्।
सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो।
साथै मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ।
प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए। यद्यपी बैठक चलेको थियो।
चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन्। सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरिरहेका छन्।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर हिजो चार जनाको मृत्यु भएको थियो। सुकुम्बासीहरुले औधोगित क्षेत्रको जग्गामा घर टहरा बनाएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोज्दा झडप भएको थियो।
प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि एमालेले आज संसदमा विरोध गरेको हो। नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूची प्रवेश गराएका छन्।
यस्तै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन्।