नेपालीहरुको महान पर्व बडादशैँको आज सप्तमी तिथि अर्थात फूलपाती,वैदिक विधिपूर्वक नवदुर्गाको पुजा आरधाना गरि मनाइदैछ ।
आज दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गर्ने गरिन्छ ।
प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुने र कालारात्रीको पुजा आरधाना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
नवदेवी केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी आज फूलपाती भित्राइन्छ ।
दशैँघरमा विधिपूर्वक फूलपाती भित्र्याइदै
आज हनुमानढोका दरबारमा रहेको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।
सरकारी कार्यालय बिदा
दशैं मनाउनकै लागि आजदेखि सरकारी कार्यालय बिदा भएका छन् । रोजगारी लगाएत विभिन्न प्रयोजनले गाँउघरबाट टाडा रहेकाहरु स परिवार आफ्नो गाउँघर गई दशैं मनाउने गर्दछन् । विशेषत ः आजबाट गाँउघरमा लिङ्गेपिङ र रोटेपिङ हालेर हर्षौल्लासका साथ दशैं मनाइन्छ ।
टुँडिखेलमा फूलपाती बढाइँ
आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अपराह्न सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । त्यसतै
हेलिकप्टर मार्फत पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन बज्नेछ ।