पूर्वी तराईका अधिकांश स्थानमा बिहानैदेखि भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा पूर्वी तराईमा भारी वर्षा भइरहेको छ ।
त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहालगायत जिल्लामा बिहानैदेखि वर्षात् भइरहेको छ ।
‘पूर्वी तराईका अधिकांश क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुन सक्छ,’ महाशाखाले एलर्ट जारी गर्दै भनेको छ, ‘तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरू तथा यात्रा गर्नु हुनेहरूले विशेष सावधानी अपनाऔँ।’