logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड खोप वैश्विक सार्वजनिक बस्तुको रुपमा उपलब्ध गराउनुपर्छ : अर्थमन्त्री शर्मा


अंकुरण खबर
1.729K
Shares

अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

आगामी नोभेम्बरमा हुने विश्व व्यापार संगठनको १२औँ मन्त्रिस्तरीय सम्मेलनका लागि अति कम विकसित देशहरुको मन्त्रिस्तरीय बैठकलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

अति कम विकासशील देशहरुका लागि कोभिड-१९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ ।

अति कम विकसित देशहरुको आपूर्ति व्यवस्था, कमजोर उत्पादक क्षमता, अपर्याप्त लगानी तथा डिजिटल डिभाइड (अर्थात डिजिटल प्रविधिको पहुँच नहुन) जस्ता बहुआयामिक चुनौतिहरु रहेको भन्दै उनले तिनको समाधानका लागि साझा पहलको आवश्यकता औंल्याए ।

नेपाल विकासशील मुलुकमा स्तरोन्न्ती हुने प्रयासलाई कोभिड-१९ को अकल्पनीय महामारीले असर पुर्याएको र सन् २०३० भित्रमा दिगो विकास लक्ष पूरा गर्नका लागि चुनौती थपिएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले विश्व व्यापार संगठन, संयुक्त राष्ट्रसंघ तथा अन्य बहुपक्षीय दातृ निकायले संक्रमणकालीन सहायता बढाएर दिगो विकासको लक्ष पूरा गर्न सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

यसका अतिरिक्त विकसित देशहरुले अति कम विकसित देशको बजार पहुँचका लागि ‘ड्यूटी फ्री, कोटा फ्री’ (भन्सार तथा कोटा सुविधा) सुविधा उपलब्ध गराउनुपर्ने र व्यापार पूर्वाधारका लागि निस्शर्त सहयोग बढाउनुपर्नेमा समेत उनले जोड दिए ।

यस्तै, नेपाल जस्तो कम विकसित मुलुकमा जलवायु परिवर्तनको जोखिम रहेको हुँदा विकसित देशहरु र विकास साझेदारहरुले वित्तीय तथा प्राविधिक सहयोग बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए।