logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

बिहीबारको बागमती प्रदेशसभा बैठकमा उपस्थित नहुने एमालेको अडान


अंकुरण खबर
1.43K
Shares

बागमती प्रदेशसभाको आज बस्ने बैठकमा नेकपा एमाले उपस्थित नहुने भएको छ ।

शनिबारदेखि शुरु हुने एमालेको वडा र पालिका अधिवेशनको तयारीमा सांसदहरू व्यस्त हुने भएकाले आज बस्ने प्रदेशसभाको बैठकमा एमाले उपस्थित नहुने भएको हो ।

एमालेले बैठक सार्न हिजो बुधबार नै प्रदेशसभा सचिवालयमा लिखित रूपमा पत्रसमेत दर्ता गराइसकेको छ । बुधबार नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले पार्टीको वडा र पालिका अधिवेशनको सम्पन्न गर्नुपर्ने भएकाले सो कार्यका लागि समय माग गर्दै बैठक सार्न सभामुखसमक्ष लिखित रूपमा पत्र पठाएको हो । एमालेले कार्तिक ११ सम्म प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेको छ ।

सभामुखज्यूले प्रदेशसभा बैठक नराख्नेमा आफूहरु विश्वस्त रहेको प्रमुख सचेतक निरौलाले बताए । यदि प्रदेशसभा बैठक राखिए आफूहरु उपस्थित नहुने उनले जानकारी दिए ।

हालसम्म प्रदेशसभा स्थगित गर्ने नगर्ने बारे प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले कुनै औपचारिक निर्णय गरेको छैन । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।

गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव संसद्मा पेश गरेका थिए ।