सर्वोच्च अदालतमा अबदेखि गोलाप्रथाबाट पेसी तोकिने भएको छ।
आज (आइतबार) नेपाल बार एसोसिएसन कार्यसमितिसँग भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यही मंगलबारदेखि गोलाप्रथाबाट पेसी तोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
आजको भेटमा बारले प्रधानन्यायाधीश जबरासँग न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बनेको ‘विकृतिविहीन अदालतसम्बन्धी अध्ययन समितिको प्रतिवेदन’ कार्यान्वयनबारे प्रश्न उठाएका थिए।
यसअघि बारले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिनको अल्टिमेटमसमेत दिएको थियो।
बारले अदालतको पेसी व्यवस्थापन र इजलास गठनका सम्बन्धमा भइरहेको व्यवस्थाबाट कतिपय गलत कार्यहरू भएकाले सोको सट्टामा स्वचालित पेसी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रूपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतहरूमा गोला प्रथा आपनाउन सुझाएको थियो।
छलफलमा प्रधानन्यायाधीश जबराले आफ्नो तर्फबाट गल्ती भएका ठाउँमा माफी माग्ने र आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने पनि प्रतिबद्धता व्यक्त गरेको बारले जनाएको छ।
मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, विकृतिविहीन अदालत बनाउने सम्बन्धमा गठित समितिको प्रतिवेदन कार्यान्वयन नगरेकोलगायतका विषयमा उनी विवादित बनेका थिए।
छलफलपछि उनले भोलि (सोमबार) दिउँसो १ बजेका लागि फुलकोर्टसमेत बोलाएका छन्। बारका प्रतिनिधिलाई पनि फुलकोर्टमा सहभागी गराउने जनाइएको छ।