न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएका छन् ।
आजको भेटमा जबराको रवैया कस्तो हुन्छ, त्यसका आधारमा फेरि छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्ने न्यायाधीसहरुको तयारी छ । भेटघाटमा के–के विषयवस्तु उठाउने भनेर तयारी भए पनि भेटघाट हुनुअघि ती विषय बाहिर नल्याउने सहमति भएको सर्वोच्च अदालतका एक न्यायाधीशले बताए।
भेटघाटको विषयवस्तु तय गर्न सोमबार सर्वोच्च अदालतका १३ जना न्यायाधीश छलफलमा जुटेका थिए ।
संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेका प्रधानन्यायाधीश जबरामाथि राजीनामा दिनुपर्ने चौतर्फी दबाब बढेको छ ।
सोमबार नै नेपाल बार एसोसिएसन र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निकास दिन’ आग्रह गर्ने निर्णय गरेको छ। चार पूर्वप्रधानन्यायाधीशहरुले पनि सोमवार अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका थिए ।