प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस शीर्ष नेता र निर्वाचन समितिको बैठकमा देउवाले मंसिरभित्रै महाधिवेशन सक्ने गरी काम गर्न निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।
बैठकमा निर्वाचन कार्यतालिकाबारे छलफल भएको थियो । तत्काल केन्द्रीय समिति बैठक बसेर बाँकी विषय टुंग्याउने निर्णय पनि बैठकमा भएको छ ।
बैठकमा सभापति तथा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महत र निर्वाचन समितिका सदस्यहरू उपस्थित थिए ।
कांग्रेसले ५१ जिल्लामा पालिका अधिवेशन सम्पन्न गरिसकेको छ । १३ वटा जिल्लामा जिल्ला अधिवेशन पनि सम्पन्न भएको छ । बाँकी १३ मध्ये रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद टुंगिन सकेको छैन । ती जिल्लामा छठपछि मात्रै अधिवेशन सुरु गर्ने बैठकले निर्णय गरेको छ । कांग्रेसले आगामी ९-१३ मंसिरमा महाधिवेशन गर्ने मिति तोकेको छ ।