logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा, अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित


अंकुरण खबर
767
Shares

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा पदबाट राजीनामा दिएकी छन् ।

बुधबार अपरान्ह बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन् ।

मुख्यमन्त्री शाक्यले बैठकमा सम्बोधन गर्दै राजनीतिलाई संस्कारयुक्त बनाउन राजीनामा दिएको उल्लेख गरेकी छन । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेकी छन् ।

१ सय ९ सांसद रहेको वाग्मती प्रदेशसभामा एमाले विभाजन भएपछि सत्तारुढ दल एमालेसँग ४३ सांसद रहेका छन् । शाक्यविरुद्धको गठबन्धनसँग नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकिकृत समाजवादी)का १३ र जनता समाजवादीका एक गरी ५९ सांसद छन् ।

त्यस्तै, विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ सांसद रहेका छन् ।

शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । नयाँ सरकार गठनका लागि शाक्यविरुद्धको गठबन्धनले दाबी पेश गर्न नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सार्दै सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको छ ।

त्यस्तै, अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।