व्यवस्थापनले अन्याय गरेको भन्दै स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
स्वावलम्वन बैक कर्मचारी संगठनले यही ९ गते विज्ञप्ति जारी गर्दै व्यवस्थापनले पूर्व सहमति कार्यान्वयन नगरेको, कर्मचारी ट्रेड युनियनमा रहेका ७ जना कर्मचारीहरुलाई बिना कारण बर्खास्त र चरित्र हत्या गर्ने नियत राखी पत्र पत्रिकामा सूचना जारी गरेको भन्दै आन्दोलित हुनुपरेको उल्लेख गरेको छ ।
यस अघि २०७७ माघ २८ गते लघुवित्त संस्थाको व्यवस्थापन र कर्मचारीबीच भएको १७ बुँदे लिखित सहमति कार्यान्वयनको लागि पहल गर्दा संस्था कर्मचारीमाथि अमर्यादित ढंगले अघि बढेकोले आन्दोलन गर्न बाध्य भएको संगठनका अध्यक्ष पूर्ण चन्द्र राज अवस्थीले बताएका छन् । कर्मचारीको माग संबोधनको लागि शान्तिपूर्ण आन्दोलन गर्दा माग पुरा नभए जस्तो सुकै कदम उठाउन बाध्य हुने, त्यसबाट हुने क्षतिको जिम्मेवारी व्यवस्थापनले लिनुपर्ने अवस्थीले चेतावनी दिएका छन् ।
यस अघि पनि संगठनले माग संबोधनको लागि सरोकारवाला निकाय नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यालय,डेपुटी गभर्नरहरुको कार्यालय, बैंक तथा वित्तीय संस्था नियमन विभाग, लघुवित्त संस्था सुपरिवेक्षण विभागमा जानकारी गराइसकेको छ । यद्यपी आफ्ना माग संबोधनको लागि ठोस पहल नभएको कर्मचारीको गुनासो छ । संगठनले वार्ता र छलफलको माध्यमबाटै समस्याको समधान गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।