नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तीन तहकै चुनाव एकै पटक हुनुपर्ने बताएका छन्।
पोखरामा शुक्रबार पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सबै निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका हुन् । खर्च कम गर्न पनि तीनवटै निर्वाचन एकै पटक गर्न उपर्युक्त हुने उनको भनाइ थियो । तर आफ्नो पार्टी अर्ली इलेक्सनको पक्षमा भने नरहेको उनले प्रष्ट पारे ।
अध्यक्ष नेपालले तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताए । उनले एमालेमा बस्नेहरुको कुनै भविष्य नभएको दाबी समेत गरे ।
एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने उनको भनाइ छ ।
नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको बताए । ‘सर्वोच्च अदालतका न्यायाधीशले ५ पुसमा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नुभयो, त्यसको प्रसंशा दुनियाँले गरेको छ । त्यसपछि जेठ ७ गते उही प्रधानमन्त्रीले दुष्साहस गर्नुभयो । त्यसविरुद्ध पनि उहाँहरु उभिनुभयो,’ उनले भने ।
प्रधानन्यायाधीशको विरोध गर्ने केपी ओली मात्रै भएको बताउदै उनले तिकडम गरेर सबैको राजीनामा माग्ने गलत काम भएको जिकिर गरे ।