logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेलाई समाप्त पार्ने सपना नदेख्नु, आगामी निर्वाचनमा एमाले १ नम्वर पार्टी बन्छ : ओली


अंकुरण खबर
1.898K
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले राणा, राजा र कांग्रेसले समाप्त पार्न नसकेको एमालेलाई अहिले माधव कुमार नेपाल समुहले समाप्त पार्छु भन्नु दिवासपना मात्र भएको बताएका छन् ।

शनिबार(आज)सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले सिध्याउने माधव नेपालको दौडधुप देखेर दया लागेको र त्यस्तो निरर्थक प्रयास नगर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले भने ‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे । विचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ । कहिले कता कहिले कता राणातन्त्रले मार्न नसकेको, कांग्रेसले प्रतिबन्ध लगाएर मास्न नसकेको, ०४६ सालमा कार्यकर्तामाथि देशभर मुद्दा लाग्दा सकिएन, राजतन्त्रले सकेन, कांग्रेसले सकेन तर माधव नेपाल दौडिराछन्।’

कार्यक्रममा अध्यक्ष ओलीले आफुले सरकारको नेतृत्व गर्दा सबै भन्दा बढी बिकास भएको र त्यही बिकास देखेर स्वार्थी तत्व अतालिएको जीकिर गरे । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली प्रधानमन्त्री हुँदा करोडौंको सामान खरिद गरेको भनी झुटो भ्रम फैलाएको ओलीको दावी थियो । उनले भने ‘मेरो भान्सामा त भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको थँे, के को किन्नु । प्रधानमन्त्रीको निवासमा सेना बस्छ, सेनाले खानु पर्यो होला, खान पकाउनु पर्यो होला । त्यहाँ ग्यास खर्च भयो होला । मेरो श्रीमतीले पकाएको खान खाएर बस्छु म । अनि करोडौंको भाँडाकुँडा चाहिँ के गर्नु’।

विपक्षीदलका भ्रममा नपर्न अध्यक्ष ओलीले सबैलाई आग्रह गरे । अध्यक्ष ओलीले अब आउने निर्वाचनमा सबै ठाउँमा एमालेले जित्ने र सोही अनुरुप काम गर्न पनि नेता कार्यक्रतालाई निर्देशन दिएका छन् ।