तिहारको आज तेस्रो दिन, धनकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
दीप प्रज्ज्वलन गरी झिलीमिली बनाउँदा घरमा लक्ष्मीको बास हुन्छ भनिएको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
लक्ष्मी पूजा सन्ध्याकालमा नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने प्रचलन छ । आज साँझ घरघरमा भैलो खेल्ने चलन छ ।
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११३औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।