आज कात्तिक शुक्ल चतुर्थी अर्थात छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यको पूजा आराधना गरी मनाइदैछ ।
पहिले पहिले तराईमा मात्र मनाइने छठ पर्व पछिल्लो समय राजधानी लगाएत अन्यत्र ठाउँमा पनि धुमधामका साथ मनाइन थालिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म एक छाक खाएर शुद्ध भई सूर्यदेवको पुजा आराधना गरि विशेष रुपले यो पर्व मनाइन्छ ।
पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर ब्रत बस्ने गरिन्छ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।
छठको वर्त बस्दा सबै कुरा राम्रो हुँने जनविश्वास रहदै आएको छ ।