नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताए । सकेसम्म सर्वोच्च अदालतभित्रै छिरेर गेटमा धर्ना दिने तर शुक्रबारजस्तै प्रहरी खटाएर भित्र जान रोके बाहिरै धर्नालाई जारी राख्ने उनले जानकारी दिए ।
अदालत भवन र नेपाल बार एसोसिएसन भवनबीच सानो गेट छ । सर्वोच्च अदालत प्रवेश गर्न कानुन व्यवसायीले प्रयोग गर्ने उक्त गेटलाई शुक्रबार सर्वोच्च प्रशासनले बन्द गरिदिएको थियो ।
जसका कारण कानुन व्यवसायी सर्वोच्चमा छिर्न पाएनन् र उनीहरू मुख्य गेटमा पुगेर विरोध प्रदर्शन जारी राखेका थिए।
सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले पनि जबराको राजीनामा माग गर्दै बारले घोषणा गरेको कार्यक्रम यथावत् रहेको जानकारी दिए ।
आइतबार बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने प्रवेशद्वारमै धर्ना दिइने उहाँले बताउनुभयो । नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।
सर्वोच्च अदालतका २० मध्ये प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीशले पनि उनको राजीनामा माग गरिरहेका छन् । विरोधस्वरूप न्यायाधीशहरुले कात्तिक ८ देखि जबराले बोलाएको फुलकोर्ट बैठक बहिष्कार गर्दै आएका छन् भने जबराले तोकेको इजलास पनि बसेका छैनन् । बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरूले त्यसको सुनुवाइमा समेत प्रधानन्यायाधीश जबरासँग इजलासमा बसेका छैनन् ।