logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगा जिप दुर्घटना अपडेट : एकै गाउँका चार जनाको मृत्यु


अंकुरण खबर
676
Shares

ओखलढुंगाको चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुको दुर्घटनामा ज्यान गएको छ ।

सुनकोसी गाउँपालिका–९ कटुञ्जेमा भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । क्षमताभन्दा बढि यात्रु बोकेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको थियो ।

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका–९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द काफ्लेका अनुसार तीन जनाको घटनास्थल र एक जनाको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा ज्यान गएको हो । गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट काठमाण्डौं पठाइएको छ । अन्य नौ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका रहेका छन् । दुर्घटनामा १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् ।

एकै गाउँका मन्दिरमा दर्शन गर्न गएका थिए । दुर्घटनमा एकै गाउँका चारको मृत्यु र दर्जन बढि घाइते भएपछि गाउँ नै शोकमा डुबेको सिद्धिचरण–१० का वडा अध्यक्ष दामोदर धमलाले बताए ।