लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ ।
यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो ।
दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।
कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।
कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो। विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरुपमा परीक्षा सञ्चालन गरिरहेका छन् ।
कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए ।