logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल बन्दको बिहानैदेखि आंशिक प्रभाव, काठमाडौंसहित प्रमुख शहरमा यातायात ठप्प


अंकुरण खबर
832
Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशका विभिन्न ठाउँमा आशिंक प्रभाव परेको छ ।

बन्दका कारण काठमाडौंसहित देशका प्रमुख शहरमा मंगलबार बिहान सवारी साधान न्यून संख्यामा मात्र चलेका छन् । बन्दका कारण यात्रुहरुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रु गाडी कुरिरहेका देखिन्छन् । तर गाडी नपाउँदा उनीहरु अलपत्र छन् ।

विद्यालयहरु पनि अधिकांश बन्द गरिएका छन् ।

बन्दको प्रभाव लुम्बिनी प्रदेशका जिल्लामा बिहानैदेखि परेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो ।

बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय जिल्लामा सीमित मात्रामा मोटरसाइकल चलेका छन् ।

बुटवलमा भने केही स्थानमा मात्र आन्दोलनकारी देखिएका छन् । ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।

यता गण्डकी प्रदेशको तनहूँबाट बन्दको आह्वान गर्दै हिंडेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।