अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन्।
दशौं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन्।
‘करदाताहरूको गुनासा सुन्नुपर्छ। यहाँ आइसकेपछि एउटा इकाई बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, मन्त्री शर्माले भने, ‘तपाईंहरूले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाई र संयन्त्र बनाउँछु । त्यहाँ तपाईंले गुनासो राख्न पाउनुहुन्छ।’ मन्त्री शर्माले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताए।
मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको बताउँदै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रहसमेत गरे । पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर सङ्कलनमा समेत असर गरिरहेको बताउँदै मन्त्री शर्माले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए ।
मन्त्री शर्माले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरू जनताको सेवा गरिरहेको बताए । त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने बताए ।
कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीनवटा प्रतिबद्धता व्यक्त गरेका छन् । शर्माले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाई र संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैँले छाप्ने प्रतिबद्धता जनाए ।