बैतडीमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।
दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको बोलेरो दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द–४ कलुवाड मोडमा गएराति ८ः३० बजे दुर्घटनामा परेको थियो।
दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। पाच जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि गम्भीर घाइते भएका चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो।
दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। रासस