logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सभामुखलाई बारको ज्ञापनपत्र


अंकुरण खबर
663
Shares

नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन बारले सभामुख गुहारेको हो। जबरालाई महाभियोग लगाएर मात्र न्यायालय सुदृढीकरण गर्न सकिने बारको निष्कर्ष छ।

प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्‍नबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले यस विषयमा चाँडै निष्कर्षमा पुगिने बताएका थिए। ‘यसको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्छ। यो ढिलाइ नगरीकन निष्कर्ष निकाल्नुपर्ने विषय हो,’ सापकोटाले भने, ‘न्याय क्षेत्रमा जे भइरहेको छ, गम्भीर रुपमा ध्यानाकर्षण भएकै थियो। तपाईंहरुले अझ भौतिक रुपमा उपस्थित हुँदै फेहरिस्त राख्नुभयो। म गहन र विस्तृत अध्ययन गर्नेछु। मेरो जिम्मेवारीको तहबाट निष्पक्ष, स्वतन्त्र, तटस्थ भूमिकासहित काम गर्छु। मेरो तहबाट खेल्नुपर्ने भूमिका विवेकले निर्देशित गरेअनुरुप लाग्नेछु।’

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ। तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका थिए।

न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ गतेदेखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको हो। कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ।

आइतबार कानुन व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका थिए । सर्वोच्च अदालत परिसरभित्र शान्तिपूर्ण धर्ना कार्यक्रममा अवरोध गर्न सशस्त्र र दंगा प्रहरी परिचालन गरेको भन्दै उनीहरूले गृहमन्त्रीको राजीनामा मागेका हुन्।