योर्कशरका एक भूतपूर्व खेलाडीले जातीय विभेदको आरोप लगाएपछि इङ्ग्ल्यान्डको क्रिकेट विगत केही सातादेखि तरङ्गित भएको छ।
अजीम रफिकका दाबीबारे गरिएको एउटा असफल अनुसन्धानपछि उक्त काउन्टी क्लबका धेरै वरिष्ठ अधिकारीहरूले राजीनामा दिएका छन्।
तीस वर्षीय भूतपूर्व क्रिकेट खेलाडी अजीम रफिकले आफ्नो व्यावसायिक जीवनको धेरै समय योर्कशर काउन्टी क्रिकेट क्लबमा व्यतीत गरे।
उनी पाकिस्तानमा जन्मिएका थिए र १० वर्षको उमेरमा इङ्ग्ल्यान्ड गएका थिए। उनले इङ्ग्ल्यान्डको युवा समूहको कप्तानी गरेका थिए र अन्तत: सन् २०१२ मा उनी योर्कशरको कप्तान बने।
सन् २०२० को सेप्टेम्बरमा उनले ईएसपीएन क्रिकइन्फोलाई दिएको अन्तर्वार्तामा उनले योर्कशर काउन्टी क्रिकेट क्लबमा विद्यमान “संस्थागत जातीय विभेद” का कारण आफूले झन्डै आत्महत्या गरेको बताएका थिए।
आफू क्लबमा रहुन्जेल आफ्नो पाकिस्तानी विरासतबारे जातीय विभेदकारी भाषा प्रयोग गरिएकोसहित आफूसँग निरन्तर दुर्व्यवहार भएको रफिक बताउँछन्।

रफिकको दाबीपछि प्रतिक्रियास्वरूप उक्त क्लबले “एउटा औपचारिक अनुसन्धान” थाल्यो।
त्यसको एक वर्षपछि योर्कशरले रफिक “जातीय उत्पीडन र थिचोमिचोबाट पीडित” भएको स्वीकार गर्यो अनि एउटा स्वतन्त्र अनुसन्धान समूहले उनलेले लगाएका ४३ आरोपमध्ये सात वटालाई सही ठहर गर्यो।
यद्यपि “गोपनीयता कानुन र मानहानिसँग सम्बन्धित” कानुनी कारण देखाउँदै उसले पूरा प्रतिवेदन सार्वजनिक गर्न अस्वीकार गर्यो।
अक्टोबर २८ मा योर्कशरले उक्त प्रतिवेदनको निष्कर्षका आधारमा कुनै खेलाडी, कर्मचारी वा कार्यकारीलाई पनि अनुशासनको कारबाही नहुने निधो गर्यो।
क्लबका अध्यक्ष रोजर हटनले योर्कशर “संस्थागत रूपमा जातीय विभेदकारी” छ भन्नका लागि “प्रमाण अपर्याप्त” रहेको निष्कर्ष निकाले।

स्वास्थ्यमन्त्री साजिद जाविदसहितका सांसद्हरूले उक्त विषयलाई लिएर योर्कशर बोर्डलाई राजीनामा दिन आह्वान गरे।
नोभेम्बर ४ मा इङ्ग्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले लीड्सस्थित हेडिङ्ले स्टेडीअममा योर्कशरले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय खेल उसले “अपेक्षित आदर्श पूरा गर्न सक्ने स्पष्ट रूपमा नदेखाएसम्मका लागि” स्थगित गरिदियो।
नोभेम्बर ५ मा हटनले राजीनामा दिए अनि रफिकसँग “स्पष्ट भाषामा” क्षमायाचना गरे। गत साता मङ्गलवार सांसद्हरूसमक्ष उपस्थित हुँदा उनले क्लब “संस्थागत रूपमै जातीय विभेदकारी” रहेको स्वीकार गरे।
योर्कशरका प्रमुख कार्यकारी मार्क आर्थरसहित बोर्डका अन्य कैयौँ सदस्यहरूले पनि राजीनामा दिएका छन्।
क्लबको नयाँ अध्यक्षमा लर्ड पटेल नियुक्त भए।
उनले गोप्य सूचना चुहाएकोमा रफिकको प्रशंसा गर्दै उक्त प्रकरणमा तत्काल कदमहरू चालिने वाचा गरे:
रफिकसँग रोजगारी ट्राइब्यूनल मिलाउने
गोप्य सूचना दिने एउटा स्वतन्त्र हटलाइनको व्यवस्था गर्ने
विविधता र समावेशिताबारे प्रक्रिया र कार्यविधिहरू समीक्षा गर्न लगाउने
रफिकले लगाएका आरोपबारेको पूर्ण प्रतिवेदन “कानुनी सम्बन्ध” भएका उनका वकिलदेखि ईसीबी र सांसद्सम्मका पक्षलाई उपलब्ध गराउने
यूकेको एउटा संसदीय समिति अगाडि गत मङ्गलवार सांसद्हरूको प्रश्नको सामना गर्न रफिक उपस्थित भए। जातीय विभेकका कारण काम गुमाएको आफूलाई लागेको र आफ्नो छोरा “त्यस्तो खेलनजिकै कतै” नपरोस् भन्ने चाहेको बताए।
यसैबीच योर्कशरका तीन पूर्वखेलाडीहरूले आफूले पूर्वकप्तान माइकल भनले जातीय विभेदकारी टिप्पणी गरेको सुनेको बताएका छन्।
माइकल भनले नोभेम्बर ४ मा आफ्नो नाम पनि प्रतिवेदनमा रहेको स्वीकार गरेका थिए तर उनले जातीय भेद हुने व्यवहार गरेको आरोप “पूर्ण र स्पष्ट रूपमा” अस्वीकार गरेका थिए।
यो मामिला क्रिकेटमा संलग्न अन्य ब्रिटिश एशियालीसँग मिलेको छ। तीमध्ये केहीले उस्तै खालको कथा सुनाएका छन् जसमा जातीय विभेदकारी दुर्व्यवहारलाई “ठट्टा” को रूपमा लिन बाध्य पारिएको भन्ने छ।
समाचारप्रस्तोता कृष्णन गुरुमूर्तिले ट्विटरमा लेखेका छन् “यो केवल ठट्टा हो भनिँदा ब्रिटेनमा त्यस्तो पीडा नखेपेको, आँसु रोकेको अनुभूति नगरेको रातो वर्णको मान्छे हतपत नहोला”।
भारतमा जन्मिएका इङ्ग्ल्यान्डका पूर्वकप्तान नासिर हुसेनले डेली मेलमा रफिकको घटना धेरै ब्रिटिश एशियालीसँग मिल्दोजुल्दो भएको लेखेका छन्।
तर खेलमा “सीस्मिक [भूकम्पीय] परिवर्तन” को कुरा साँचो भए त्यसले खेल “उज्ज्वल, थप समावेशी भविष्य” का लागि तयार हुन सक्ने उनले बताए।
बीबीसीको सहयोगमा