आफ्नो ड्युटी सकिएको भन्दै जहाजलाई अन्तै गन्तव्यमा अवतरण गराउने नेपाल वायुसेवा निगमका पाइलटलाई पर्यटन मन्त्रालयले स्पष्टीकरण सोधेको छ।
सोमबार क्याप्टेन पेम्बा शेर्पाले त्रिभुवन विमानस्थलबाट रूकुमका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण गराएका थिए । पाइलट शेर्पाले गन्तव्यमा नपुग्दै आफ्नो ड्युटी सकिएको भनेर नेपालगञ्जमा निगमको ट्वीनअटर जहाज अवतरण गराएको पर्यटन मन्त्री प्रेम आलेले बताए ।
क्याप्टेन शेर्पालाई त्यस घटनाबारे स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । क्याप्टेन शेर्पाले आफ्नो ड्युटी सकिएको भनेर रूकुम नपुर्याई यात्रुलाई नेपालगञ्जमै अलपत्र छोडिदिएको पाइएको मन्त्री आलेले बताए ।
यो घटना थाहा पाएलगत्तै आफूले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई छानबिन गर्न निर्देशन दिएको आलेले जानकारी दिए ।
निगम स्रोतका अनुसार सोमबार ३ बजे त्रिभुवन विमानस्थलबाट आठ जना यात्रु लिएर ट्वीनअटर जहाज रूकुमको चौरजहारी विमानस्थलतर्फ उडेको थियो। तर, जहाज रूकुम नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको थियो। क्याप्टेन शेर्पाको चार बजे ड्युटी सकिन्थ्यो।
उनले नेपालगञ्ज पुगेपछि ‘मेरो ड्युटी सकियो’ भन्दै यात्रुलाई त्यहीँ ओरालेका थिए। यात्रुलाई नेपाल वायुसेवा निगमले नै बस्ने बन्दोबस्त मिलाएको थियो।
मंगलबार बिहान त्यही ट्वीनअटर जहाजले नेपालगञ्ज विमानस्थलबाट यात्रुलाई रूकुम पुर्याएको छ। स्रोतका अनुसार सोमबार त्यो ट्वीनअटर साढे ६ बजे नै उड्ने तालिका थियो। तर, मौसमलगायत कारण समयमा उडाउन नसकिएपछि क्याप्टेन शेर्पा घर गएका थिए। उनलाई दिउँसो फेरि निगमले जहाज उडाउनुपर्ने भयो भनेर बोलाएको थियो।