सरकारले दुई साताभित्र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलयबाट ई पासपोर्ट वितरण गर्ने भएको छ ।
हाल राहदानी विभाग (त्रिपुरेश्वर) बाट मात्र ईपासपोर्ट वितरण भइरहेको छ । योसँगै विभागले आवेदन संख्यासमेत बढाउने भएको छ । हाल राहदानी विभागमा प्रि इनरोलमेन्टका लागि दुई सय जनाले मात्रै आवेदन दिन पाउने गरी कोटा प्रणाली लागू गरिएको छ ।
शुरुका दिनमा बढी लोड भएर स्लो भएको सिस्टम अहिले समाधान भइसकेको विभागका प्रवक्ता शरदराज आरनले बताए । योसँगै क्रमिक रुपमा निवेदकको संख्या बढाइने उनले जानकारी दिए ।
उपत्यकाको हकमा लाइभ इनरोलमेन्ट गरी सकेपछि करिब सात दिनभित्रै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी भइरहेको विभागले जनाएको छ ।
त्यस्तै, अन्य जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरुको हकमा हाल लाग्ने गरेको समयभन्दा विद्युतीय राहदानीको हकमा करिब ६० देखि ७० प्रतिशत कम समय लाग्ने अनुमान गरिएको छ ।