logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले महाधिवेशन : २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’, भीड निरीक्षण गर्न ड्रोनको प्रयोग


अंकुरण खबर
884
Shares

नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने  पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ ।

उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम सुरु गरिएको हो । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैँडाकोटतर्फ चार सेल्फी प्वाइन्ट रहनेछन् । उनले भने “मञ्चको दायाँ भागमा एमालेको झण्डा बोकेको गैँडा निर्माण गरिने छ ।” त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिने छ । उनका अनुसार यी दुई स्थायी संरचना निर्माणका लागि करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

महाधिवेशन उद्घाटनस्थललाई थप आकर्षक बनाउनका लागि अन्य २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्बिर राखिने छन् । मदन भण्डारी, भिआई लेनिनका तस्बिर पनि सेल्फी प्वाइन्टमा राख्ने व्यवस्था गरिएको श्रेष्ठले बताए । ट्रेड युनियन महासङ्घको नेतृत्वमा निर्माण हुन लागेको मजदुरले उचालेको पृथ्वीले संसार बनाउने मजदुरको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिने उनको भनाइ छ । यसका लागि रु चार लाख खर्च हुने अनुमान गरिएको छ ।

यस्तै एमालेको १०औँ महाधिवेशनको लोगो गैँडाले एमालेको झण्डा उठाएको प्रतिमा निर्माणका लागि एक लाख रुपैयाँ खर्च हुनेछ । यो फाइबरको बन्ने छ । नदी किनारमा स्थायीरूपमा राखिने यस्ता संरचनाले नदीको तटबन्ध गर्नका लागि राज्यको ध्यान पुग्ने श्रेष्ठले बताए । मञ्च निर्माणको काम ५० प्रतिशत सम्पन्न भइसकेको छ । उद्घाटन सत्रमा सहभागी हुने भीड नियन्त्रण गर्न पाँच स्थानमा बकेट (डोरीको छेकबार) निर्माण गरिने छ । दुई ड्रोनले नियमितरूपमा निरीक्षण गरिरहने छ ।

एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ । सो महाधिवेशन उद्घाटन सत्रमा ६ लाख मानिसको सहभागिता रहने नेकपा (एमाले) ले जनाएको छ ।