एमालेको दसौं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनमा सुरु हुँदैछ। त्यसका लागि तयारी तीव्र गतिमा भइरहेको छ।
महाधिवेशन तयारीकै सिलसिलामा एमाले केन्द्रीय नेताहरु पार्टीको चितवन पुग्ने क्रम जारी छ । कैयौं नेताहरु भने त्यहाँ पुगि नै सकेका छन्।
महाधिवेशन आयोजक समितिका संयोजकसमेत रहेका नेता रामबहादुर थापा ‘बादल’, सहसंयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा, वाग्मती प्रदेश अध्यक्ष आनन्द पोख्रेल आज चितवन पुग्दैछन्।
अध्यक्ष केपी शर्मा ओली लगायत केही नेता भने बिहीबार मात्र चितवन पुग्ने बताइएको छ। १० गते नारायणी नदी किनारमा १०औं महाधिवेशनको उद्घाटन सत्र सुरु भई सौराहस्थित एक होटलमा बन्द सत्र गर्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ।
त्यस्तै चितवनमै एमाले केन्द्रीय कमिटिको अन्तिम बैठकको तयारी भइरहेको बताइएको छ। चितवनको स्वागतका लागि नारायणी नदी किनारमा मन्च निर्माणदेखि सौराहासम्मको काम जारी रहेको बताइएको छ।