Breaking Newsराजनीति

प्राकृतिक प्रकोपले जोखिममा रहेका जनतालाई एकीकृत बस्ती विकासको काम हुँदैछ : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन् ।

उनले योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको बताएकी हुन् ।

बिहीबारबाट ललितपुरमा शुरु भएको आवास तथा बस्ती सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री झाँक्रीले नेपाल सरकारको १५ औँ योजनामा प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन कार्यक्रम बनाएको बताइन् ।

राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनामा नेपालको दिगो विकासको लक्ष्यहरु र नेपालको अन्तर्राष्ट्रिय फोरममा नेपालले गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्ने योजना सरकारको रहेको बताइन् । मन्त्री झाँक्रीले चालु आर्थिक वर्षका कार्यक्रमहरुमा पनि व्यवस्थित र समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु रहेको बताइन् ।

मन्त्री झाँक्रीले भनिन्, ‘योजनावद्ध विकास गरी अति विपन्न दलीत, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई नेपालको संविधानमा व्यवस्था भए बमोजिम आवासको हक सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जिल्लाहरुमा एकीकृत बस्ती विकास कार्यक्रमहरु अगाडि सारिएको छ ।

राष्ट्रिय योजना आयोगबाट तयार भएको १५औँ योजनामा परिकल्पना गरिएको वर्तमान अवस्था र भावी मार्गचित्र नेपालको दिगो विकासको लक्ष्यहरुका साथै नेपालको अन्तर्राष्ट्रिय फोरममा गरेका प्रतिवद्धताहरु पूरा गर्नका लागि व्यवस्थित नयाँ शहरको निर्माण गर्दै समावेशी शहर, उत्थानशील समुदाय निर्माणका लागि विभिन्न आयोजनाहरु कार्यान्वयन भएका छन् ।’

Comment here