logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले महाधिवेशन: अध्यक्ष केपी ओलीको दाबी, ‘निर्वाचनपछि एमालेको सरकार बनाउँछौँ’


अंकुरण खबर
1.001K
Shares

चितवनमा सुरु भएको नेकपा एमालेको दशौँ महाधिवेशनको उद्‌घाटन सत्रलाई शुक्रवार नारायणी नदी किनारमा सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले आगामी निर्वाचन पछि एमालेको सरकार बन्ने बताएका छन्।

“आउँदो चुनावपछि एमालेको सरकार बन्छ र बाँकी रहेका विकासका कामहरू अघि बढाएर सुखी नेपाली समृद्ध नेपालको सपना साकार बनाउँछ,” कार्यकर्ताका तालीबीच ओलीले भने।

चार वर्षअघि भएको संसदीय निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेले सङ्घसहित चार वटा प्रदेशमा सरकारको नेतृत्व गरेको थियो।

तर आन्तरिक विवाद र पार्टी विभाजनपछि एमालेले सबै सङ्घ र प्रदेश सरकारको नेतृत्व गुमाएको छ।

ओलीको दाबी

गत असारसम्म सरकारको नेतृत्व गरेका ओलीले स्थानीय निर्वाचनमा एमालेले ५० प्रतिशतसम्म मत ल्याउने दाबी गरे।

नेकपा माओवादीको नेतृत्वमा विगतमा जनयुद्ध लडेका दशौँ हजार पूर्व लडाकुहरू एमाले प्रवेश गर्ने दाबी गर्दै ओलीले माओवादीले बेवास्ता गरेका लडाकुहरूको व्यवस्थापन अब एमालेले गर्ने बताए।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूसँग आफ्नो असमझदारीप्रति सङ्केत गर्दै ओलीले विगतमा आफ्नो खुट्टा तान्नेहरू अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समाएर बसेको आरोप लगाए।

देउवाको शुभकामना

त्यसअघि एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली र आफू दुवै जनाले जेलनेल भोगेर आएको भन्दै आगामी पुस्ताका कुनै पनि नागरिकले त्यस्तो अवस्था भोग्न नपरोस् भन्नेमा दलहरू लाग्नुपर्ने बताए।

“जेलमा पनि हामी सबै जेलका साथीहरू हौँ। जेलनेल… यी सब कुराहरू हामीले भोगेका हौँ। हिजोका दिनमा भोगेका दुखहरूलाई ख्यालमा राखेर भोलिका दिनमा कुनै पनि नेपालीलाई यस्तो यस्तो किसिमको परिस्थिति भन्नेमा हामी सचेत हुनुपर्छ,” देउवाले भने।

देशलाई समृद्धिमा लैजान सबै दलहरूबीच सहकार्य आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो।

एमाले महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्भित्र र बाहिर रहरेका दलहरूबीच सहमति र सहकार्यका आधारमा देश र जनतालाई केन्द्रमा राखेर सरकार अघि बढ्ने प्रतिबद्धता दोहोर्‍याए।

अन्य नेताले के भने?

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले जतिसुकै तिक्तता भए पनि राष्ट्र निर्माणमा दलहरू एकजुट हुनुपर्ने बताए।

नेपालमा कम्युनिस्ट आन्दोलन अघि बढाउन कम्युनिस्ट पार्टीहरूबीचको एकता अझै पनि आवश्यक रहेको पोखरेलको भनाइ थियो।

सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलन र जनआन्दोलनका उपलब्धि रक्षाका लागि पहल पर्न एमालेको ध्यानाकर्षण गराए।

समाजवादी लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमालेलाई थप उचाइ हासिल गर्न शुभकामना दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी ओलीलाई दृढ अडान भएको राष्ट्रवादी नेता भन्दै उनी नेतृत्वको पार्टीले देशलाई सङ्कटबाट पार लगाउने विश्वास व्यक्त गरे।

एमाले महाधिवेशनको उद्घाटन सत्रमा एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादीका नेताहरू भने उपस्थित थिएनन्।

पार्टी विभाजनपछि पहिलो पटक हुन लागेको महाधिवेशनले सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दलमा आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।

आगामी साता सम्पन्न हुने महाधिवेशनबाट एमाले नेतृत्वमा केपी ओली दोहोरिन सक्ने आकलन विश्लेषकहरूले गरेका छन्।

यसअघि विसं २०७१ सालमा काठमाण्डूमा भएको नवौँ महाधिवेशनबाट माधव नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए।

बीबीसीको सहयोगमा