नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र अझै अनिश्चित बनेको छ ।
गत शुक्रबार नारायणी किनारमा उद्घाटन भएको महाधिवेशको बन्दसत्र चितवनको पर्यटकीयस्थल सौराहमा बस्ने तय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्दैगर्दा बन्दसत्र धकेलिँदै गएको छ । नयाँ नेतृत्वका लागि आजै प्रकृया पनि सुरु हुने एमालेले जनाएको छ ।
आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ भने साँझ ६ः३० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
शुक्रबार राति बसेको बैठकले दुई महिनाअघि विधान महाधिवेशनले पारित गरेको केन्द्रीय सदस्य र पदाधिकारीको संख्यामा वृद्धि गरेको छ ।
यस्तै केन्द्रीय कमिटीको आकार ३ सय १ पुर्याउने र हटाइएको पोलिटब्युरोलाई पुनः स्थापित गर्दै केन्द्रीय सदस्यको एक तिहाइ अर्थात् ९९ जना हुने प्रस्ताव पारित गरेको छ ।