logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले महाधिवेशनमा निर्वाचन प्रक्रिया केही समयमै सुरु, यस्तो छ तालिका


अंकुरण खबर
1.092K
Shares

नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका छ ।

यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो । पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ । यस्तै ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ ।

यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ । यो कार्यतालिका केन्द्रीय निर्वाचन आयोगले संशोधनसहित सार्वजानिक गरेको हो ।

सबै नेतृत्व सर्वसम्मत चयन गर्ने एमालेले बताउदै आए पनि सर्वसम्मत भने हुन सकेन । अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका छन् । उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए ।

विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका छन् । उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए ।

एमाले नेता भीम रावल र घनश्याम भुसाल भने निर्वाचनको लागि तयारीमा छन् । अब निर्वाचन पछिको परिणामसंगै एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीयको कमिटी रहने छ ।