logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले महाधिवेशनः राति नौ बजेदेखि मतदान हुने, ७२ वटा भोटिङ मेसिन तयारी अवस्था


अंकुरण खबर
1.001K
Shares

नेकपा एमाले महाधिवेशनका अन्तर्गत नेतृत्व चयनका लागि आज राति ९ बजेदेखि मतदान शुरु हुने भएको छ ।

निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार मतदानको कार्यक्रम पुनः पछि धकेलिएको हो । निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो ।

अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेका छैनन् । अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन् ।

एमाले निर्वाचन आयोगले मतदानका लागि आवश्यक व्यवस्थापन गरिहेको छ । मतदानका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको जनाएको छ । आधाभन्दा बढी पदमा सर्वसम्मत भएकोले  प्रावधिक टोलीले ७२ वटा मेसिन मात्र निर्वाचनका लागि तयारी अवस्थामा राखेको हो ।

आवाश्यक परेको खण्डमा एक सय मेसिन थप राख्न सकिने रामलक्ष्मण इन्भेट्सका डाईरेक्टर लक्ष्मण पाण्डेले बताए। उनले धेरै जसो पदमा सर्वसम्मत भएको बुझिएकाले अनुमान गरेको भन्दा कम मेसिन राखिएको जानकारी दिए।

भोटिङ मेसिनले ‘एस’ वा ‘नो’ भन्ने बाहेक अन्य विकल्प नदिने भएकोले यसमा मत बदर हुने सम्भावना नहुने पाण्डेले बताए । ‘त्यसैले भोटिङ मेसिनमा सतप्रतिशत मत खस्ने उनको दाबी छ । ‘मत हालिसकेपछि प्रिन्ट पनि अटोमेटिक दिने व्यवस्था रहेको उनले बताए ।

निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि उम्मेदवारको नाम र तस्बिर सिस्टममा अपग्रेड गर्न झन्डै ७–८ घन्टा लाग्ने उनले बताए ।