नेकपा एमालेको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।
बिहान ४ बजेबाट सुरु भएको मतदान ११ बज्न लाग्दा सकिएको हो । निर्वाचनमा करिब २ हजार १ सय मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। जारी महाधिवेशनका लागि २ हजार ५१ प्रतिनिधि चयन भएका थिए ।
सोमबार राति नै शुरु हुने भनिएको मतदान प्राविधिक कारणले मंगलबार बिहान मात्रै सुरु भएको थियो । मतदान विद्युतीय प्रणालीबाट भएका कारण परिणाम पनि छ्ट्टिै सार्वजनिक हुने समितिले जनाएको छ।
जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव बाहेकका सबै पदाधिकारी चयनका लागि निर्वाचन गरिएको हो। वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल निर्विरोध निर्वाचित भइसकेका छन्। त्यस्तै महासचिवमा शंकर पोखरेल निर्विरोध रहे भने प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल उपमहासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन्।
आजको निर्वाचनबाट एमालेमा अध्यक्ष, उपाध्यक्ष र सचिव चयन गर्नेछ । अध्यक्ष पदका लागि केपी ओली र भीम रावल प्रतिस्पर्धामा छन् भने उपाध्यक्षका लागि सुवास नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे प्रतिस्पर्धामा छन्। ७ प्रतिस्पर्धीबाट ६ जना उपाध्यक्ष चयन हुनेछन्।
त्यस्तै ७ जना सचिव पदका लागि टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट, पद्मा अर्याल, भीम आचार्य र टंक कार्की प्रतिस्पर्धामा छन्।