logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले लिए विश्वासको मत


अंकुरण खबर
741
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले बुधबार प्रदेशसभा बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले बहिष्कार गरेको आजको बैठकमा २२ प्रदेशसभा सांसद उपस्थित भएका थिए ।

यसअघि मुख्यमन्त्री शाहीले हिजो विश्वासको मत लिने तय भए पनि कतिपय एमाले सांसद पार्टीको महाधिवेशनको क्रममा चितवनमा रहेको भन्दै बुधबारका लागि सारिएको थियो । तर बुधबार पनि एमाले सांसदहरु प्रदेशसभा बैठकमा अनुपस्थित भएका थिए ।

बुधबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री शाहीले एमाले अनुपस्थित हुनुलाई आफूले सहयोगकै रुपमा बुझेको बताए ।

कांग्रेसको कर्णाली प्रदेशसभा संसदीय दलका सचेतक हिमबहादुर शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यताका कारण विपक्षी दलको उपस्थितिविनै विश्वासको मत लिनुपरेको बताए ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको र उक्त मत कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्री शाहीले विश्वासको मत पाएको घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।