प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउन जोड दिएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको एघारौँ सभा तथा वार्षिक नीति कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले मुलुकको समग्र विकासलाई दिशाबोध गर्न विश्वविद्यालयलको पाठ्यक्रममा समसामयिक परिमार्जन गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबीच सहकार्य गरी उच्च शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्ने उनको जोड थियो ।
उनले कर्णाली प्रदेशको समग्र विकासका लागि विद्यमान प्राकृतिक सम्पदा, परम्परागत ज्ञान र सीपहरुको अध्ययन, अनुसन्धान तथा बजारीकरण गरी जनताको जीवनस्तर माथि उठाउन प्राविधिक र व्यावसायिक दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी र पूँजी विदेश पलायन भइरहेको सन्दर्भमा यस विश्वविद्यालयले समयानुकूल योजना र पाठ्यक्रमहरू बनाई यसको प्रभावकारी कार्यान्वयनद्वारा स्वरोजगार सिर्जना गर्न सक्षम जनशक्ति उत्पादन गर्न निरन्तर प्रयत्नशील रहनुपर्ने अपेक्षा व्यक्त गरे ।
उनले विश्वविद्यालयले भौतिक पूर्वाधारको यथोचित प्रबन्ध, शैक्षिक कार्यक्रमहरूको प्रभावकारी सञ्चालन र योग्य जनशक्ति व्यवस्थापन गर्दै आर्थिक तथा व्यवस्थापकीय सुशासन कायम गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।