नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको गतिलाई रोक्ने काममा नलाग्न सबैलाई आग्रह गरेका छन् ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘राष्ट्रियता नेपाली जनताको भावना हो । परिवर्तनको गतिलाई रोक्ने काममा हामी नलागौँ’ अध्यक्ष नेपालले भने, ‘अगाडि बढिसकेको इतिहास पछाडि फर्किदैन ।’
अध्यक्ष नेपालले देशको विशेषता बिर्सिएर विदेशीको नक्कल गर्दा देशको हित नहुने उल्लेख गरे । ‘आफ्नो देशको विशेषता बिर्सिएर नक्कल गर्न थालेमा त्यसले देशको हित गर्दैन । ’
अध्यक्ष नेपालले गफले नभएर काम गरेर देखाउने पार्टी चाहिएको बताए । राजनीतिको केन्द्र नेपाली जनता हुनुपर्नेमा समेत उनको जोड थियो । ‘गफले होइन, काम गरेर देखाउने पार्टी चाहिएको छ, अध्यक्ष नेपालले भने ।’
अध्यक्ष नेपालले महाधिवेशनको सफलताको शुभकामना दिँदै संगठनलाई गतिशील बनाएर जनताको आवाजसँग अगाडि बढ्ने कुरामा राप्रपाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।