नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज सातै प्रदेशमा प्रदेश अधिवेशन हुन लागेको छ।
देश संघीय संरचनामा गएपछि पहिलो पटक कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ को विराटनगरमा, प्रदेश २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन्।
आज प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रम हुनेछ। यसका लागि सबै प्रदेशमा कांग्रेसले केन्द्रीय नेता खटाएको छ।
प्रदेश १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठलाई खटाएको छ।
यस्तै लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई प्रदेश अधिवेशन गर्न जिम्मा दिइएको छ।
प्रत्येक प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। प्रदेश अधिवेशनबाट पदाधिकारीसँगै प्रदेश सदस्यले चयन हुनेछन्। कोषाध्यक्ष भने पछि मनोनयन गरिने भएको छ।
प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता रहनेछन्।
सबै प्रदेशमा एकै पटक आज अधिवेशन उद्घाटन हुनेछ।। भोलि प्रदेश पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारी दर्ता र पर्सि चुनाव हुने कार्यतालिका रहेको छ।