logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जवाद चक्रवात कमजोर बन्दा नेपालमा असर, केही स्थानमा हिमपात र वर्षाको संभावना


अंकुरण खबर
728
Shares

हाल बङ्गालको खाडीमा रहेको चक्रवात जवाद कमजोर रहदा यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिन अनुसार कमजोर चक्रवात जवादका कारण अहिले नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरूका पहाडी भूभागमा आंशिक बदली भई केही स्थानमा पानी पर्ने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।

राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाँदा पानी पर्ने संभावना छ ।