म्यान्मारमा आइतबार सेनाको गाडी प्रदर्शनकारीमाथि जानाजान हुँइक्याइएपछि पाँच जनाको मृत्यु भएको छ।
यांगुनको यो घटनामा ३ जना घाइते हुँदा एकको अवस्था गम्भीर भएको बीबीसीले जनाएको छ। प्रदर्शनकारीले लोकतन्त्र पुनस्थापना र नेतृ आङ साङ सुचीको रिहाइको माग गरेका थिए।
यसैवर्षको फेब्रुअरी यता म्यान्मारमा सैन्य शासन लागू भएको थियो। त्यसयता सेनाले प्रदर्शनकारीमाथि गोली चलाउँदा हालसम्म १२ सय जनाको मृत्यु भएको तथ्यांक छ।
प्रदर्शनकारीमाथि गोली चलाउने, घरमै गएर कुटपिट गर्ने घटना बाहिरिरहँदा सेनाको ज्यादतीको अर्को उदाहरण स्वरुप आइतबार सेनाको गाडी प्रदर्शनकारीमाथि कुदेको देखिएको हो।
सेनाले त्यहाँका राष्ट्रपति विन मिन्ट, लोकतन्त्रवादी नेतृ आङ साङ सुचीसहित देशका शीर्ष नेतालाई नजरबन्दमा राखेका छन्।
सेनाले सुचीको पार्टीले गत नोभेम्बरको चुनावमा धाँधली गरेको आरोप लगाएका थिए। एकवर्ष सेनाले शासन गर्ने अनि आम निर्वाचन गराएर सत्ता चुनाव जित्ने पार्टीलाई हस्तान्तरण गर्ने सेनाको भनाइ छ।
हाल सेना प्रमुख मिन अङ लाइङ देशका प्रमुख हुन्। पछिल्ला दिनहरुमा उनले नेतृ सुचीमाथि दर्जनौं मुद्दा लगाएका छन्। जहाँ चुनावमा धाँधलीसँगै देशद्रोहसम्मको मुद्दा छ।
सेनाले एक वर्षभित्र देशमा आम निर्वाचन गराउने वाचा गरेता पनि यो हर्कतका कारण यिनीहरु सत्तामै बसिरहने अनुमान गरिएको छ।
यसअघि त्यहाँ प्रदर्शनकारीहरुमाथि खुलेआम गोली चलेको भिडिओहरु सार्वजनिक भएको थियो। यतिबेला गाडी प्रदर्शनकारी कुदाइएको छ भने भिडिओमा गोली पड्केका आवाज पनि सुनिकएको छ।