विश्वभर कोभिडको त्रास कायमै रहेका बेला यसका नयाँ नयाँ भेरियन्टले थप त्रास सृजना गरेका छन् । अहिले पुनः नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाईनै सशंकित बनाएको छ । ओमिक्रोनबारे विभिन्न अध्ययन अनुसन्धान भैरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’को सूचीमा राखेकाले यस अघिका भेरियन्ट भन्दा यो बढी संक्रमक, घातक र कोरोना बिरुद्ध निर्मित कुराहरुलाई थप चुनौति दिने खालको रहेको धेरैको विश्लेषण छ ।
दक्षिण अफ्रिकामा पुष्टि भएको छोटो अवधिमा धेरैमा राष्ट्रमा देखापरेको ओमिक्रोन भेरियन्ट सोमबार नेपालमा पनि दुई जनामा पुष्टि भएको छ ।
ओमिक्रोन भेरियन्ट के हो ? यो अन्य भेरियन्ट भन्दा कति संक्रामक र घातक छ ? कोरोनाविरुद्धको खोपले यसलाई काम गर्छ कि गर्दैन् ? यहि सन्दर्भमा अंकुरण खबरका लागि नेपालमा कोरोना संक्रमित धेरैको उपचार संलग्न फिजिसियन तथा बाथ रोग विशेषज्ञ डा.दिपा शाहसँग गरिएको कुराकानीको अंश
ओमिक्रोन भेरियन्ट कस्तो किसिमको भेरियन्ट हो ?
ओमिक्रोन भेरियन्ट कोभिड-१९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो । कुनै पनि भाइरस विभिन्न जीवाणुहरुले बनेको हुन्छ । जीवाणुहरु वातावरणमा मिसीएसँगै तिनीहरुको स्वरुप पनि परिवर्तन हुने गर्दछ । त्यसै अनुरुप कोरोना भाइरसको पनि स्वरुप परिवर्तन हुँदै नयाँ भेरियन्ट देखिएको हो ।
वातावरणको हावा पानी अनुसार भाइरसको जीनहरु पनि परिवर्तन हुन्छ र कुनै स्थानमा देखिन थाल्छन् । अनुसन्धान गर्ने निकायहरुले त्यसलाई विभिन्न नामहरु दिएका हुन्छन् । त्यसैले अहिले विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन भेरियन्ट भनेर नाम दिएको हो ।
ओमिक्रोन भेरियन्ट पहिलेको डेल्टा भन्दा बढी संक्रामक हो ?
यो भर्खर आएको भेरियन्ट हो । ओमिक्रोन कत्तिको संक्रामक छ भन्ने हालसम्म स्पष्ट भइसकेको छैन् । यद्यपी जनमानसमा भने धेरै त्रास देखिन्छ । यसको बारेमा अनुसन्धानहरु भइरहेको छ । तर प्रारम्भिक अनुसन्धानले के देखाएको छ भने कोरोनाको अन्य भेरियन्ट भन्दा यो भेरियन्ट एकबाट अर्को व्यक्तिलाई छिटो सर्ने गर्दछ ।
त्यसबाहेक यो भाइरस कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुमा बढी देखिएको छ । अन्य मुलुकहरुमा ओमिक्रोन भएका व्यक्तिहरु हेर्ने हो भने ८० प्रतिशत कोरोनाविरुद्धको खोप लगाएका छन् । यसबारे अनुशन्धान भैरहेकाले अहिलेनै डेल्टा भन्दा बढी संक्रमक या कम एकीन गर्न त सकिन्न तर छोटो समयमै फैलिने दर बढेकाले केही जटील भने हुनसक्छ ।
के अन्य भेरियन्ट भन्दा ओमिक्रोनमा देखिने लक्षण फरक हुन्छ ?
अन्य भेरियन्ट भन्दा ओमिक्रोन भेरियन्टमा देखिने लक्षण फरक छैन् । लक्षणहरु सबै उस्तै हुन् । तर अनुसन्धानहरुले ओमिक्रोन हुँदा घाँटि अलि बढी दुख्ने,शरीर अलि धेरै दुख्ने,टाउको धेरै दुख्ने देखाएको छ ।
ओमिक्रोन आएपछि नेपालमा बुस्टर डोजको बहस चलेको छ,के यो आवश्यक छ ?
ओमिक्रोन नआउदा पनि नेपालमा बुस्टर डोजको आवश्यकता थियो । तर प्राथमिकता के हो भन्ने कुरामा भर पर्छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउने संख्या नै कमी छ । यहाँ धेरै जनसंख्याले कोरोनाविरुद्धको खोप नै लगाउन पाएका छैनन् ।
यो अवस्थामा बुस्टर डोज दिन सकिन्छ कि सकिदैन भन्ने हो । तर बुस्टर डोज आवश्यकता नै छैन् भन्ने होइन् ।
के बुस्टर डोजले ओमिक्रोन भेरियन्ट विरुद्ध काम गर्छ ?
बुस्टर डोजले ओमिक्रोन भेरियन्ट विरुद्ध काम गर्छ भन्ने कुरा आएको छैन् । नयाँ भेरियन्ट भएकाले पहिलेको वा मूल भेरियन्टबाट कडा वा नरम जे पनि हुन सक्छ। अर्को कुरा यस अघि पनि कोरोना भाइरस विरुद्ध खोप लगाएकाहरुमा पनि संक्रमण भएको धेरै छ । तर कोरोनाविरुद्धको खोप लगाएकालाई यदि संक्रमण भइहालेमा धेरै गाह्रो बनाउदैन भन्ने थियो । त्यसैले बुस्टर डोजले नी ओमिक्रोन विरुद्ध काम गर्छ भन्ने कुरा अहिलेसम्म ठोस तथ्य पत्ता लागिनसके पनि संक्रमण भैहाले निको हुन सहज हुन्छ भन्ने हो ।
ओमिक्रोन भेरियन्टबाट बच्न के गर्ने ?
कोरोना भाइरसको जुनै भेरियन्ट देखिए पनि बच्ने उपाय एउटै हो । मास्कको सहि प्रयोग गर्ने,भौतिक दूरी कायम गर्ने,बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने । भिडभाड नगर्ने, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ।
यो बाट बच्ने सर्वोत्म उपाय भनेकै जनस्वास्थ्यकाका सबै मापदण्डहरु कडाइपूर्वक पालना गर्ने हो । सरकारले पनि जति सक्दो छिटो कोरोनाविरुद्धको पूर्ण मात्र खोप सबै नागरिकलाई दिनु आवश्यक छ भने आम सर्वसाधरणहरुले अनाआवश्यक त्रास र भ्रमको पछि नलागी जनस्वास्थ्यका मापदण्डहरु पालना गरे जुन सकै भेरियन्ट आए पनि जोगिन सहज हुन्छ ।