निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरेर आउँदो १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन चाहने दलहरूले आउँदो १–१०पुससम्ममा दल दर्ता गरिसक्नुपर्ने जानकारी दिएको छ ।
सार्वजनिक तालिकाअनुसार १७ पुसमा मतदाता नामावली प्रकाशन, नाम सच्याउन र विरोध उजुरी गर्न, १८ र १९ पुसमा उजूरी उपर छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ पुसमा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने, २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र १२ माघमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने सार्वजनिक तालिकामा उल्लेख छ ।